बुधबार, असार ३१, २०८३

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउनेलाई कति कति थुनियो ?


देव चौलागाईं


नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।

मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारण गर्दै रायमाझीलाई मुख्य दोषीका रूपमा एकीकृत कसुरमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो। उनीविरुद्ध ठगी कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानासहित थप ६ महिना कैद सजाय तोकिएको थियो। सबैभन्दा बढी सजाय भएको एकीकृत कसुरअनुसार उनले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना भोग्नुपर्ने भएको हो।

यस्तै, पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई एकीकृत कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ। उनलाई ठगी कसुरमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानासहित थप ३ महिना कैद सजाय निर्धारण गरिएको थियो। एकीकृत सजायअनुसार उनले २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना भोग्नेछन्।

यसअघि असार २४ गते सोही इजलासले उक्त मुद्दामा फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थियो भने ७ जनालाई सफाइ दिएको थियो।

दोषी ठहर हुनेमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजीत राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झा रहेका छन्।

सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत