बुधबार, असार ३१, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • माजिद अन्सारी पक्राउ प्रकरणमा रास्वपा सांसद खरेलको प्रश्न : ‘अत्यधिक बल प्रयोगमा प्रहरीले माफी माग्नुपर्छ’

माजिद अन्सारी पक्राउ प्रकरणमा रास्वपा सांसद खरेलको प्रश्न : ‘अत्यधिक बल प्रयोगमा प्रहरीले माफी माग्नुपर्छ’


कान्तिपथ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेलले जेनजी अभियानका अगुवा माजिद अन्सारी पक्राउ प्रकरणमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप लगाउँदै त्यसबारे नेपाल प्रहरीले औपचारिक रूपमा माफी माग्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद खरेलले अन्सारीलाई पक्राउ गर्ने क्रममा कुटपिट, लुछाचुँडी र अत्यधिक बल प्रयोग भएको दाबी गर्दै घटनाप्रति सरकारको धारणा सार्वजनिक गर्न माग गरे। उनले अन्सारीको उपचार र क्षतिपूर्तिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उठाए।

खरेलले प्रहरी हिरासतभित्र समेत दुर्व्यवहार हुने गरेको गुनासो गर्दै यस्तो अभ्यास लोकतान्त्रिक व्यवस्थासँग मेल नखाने टिप्पणी गरे। उनले प्रहरीको व्यवहारमा तत्कालीन वा वर्तमान सरकारको प्रभाव देखिने गरेको उल्लेख गर्दै विगतमा रास्वपा सभापति रवि लामिछाने पक्राउ पर्दाको घटनासमेत स्मरण गरे।

उनले आन्दोलनकारी वा फरक मत राख्ने नागरिकप्रति राज्य संयमित हुनुपर्ने बताउँदै मानवअधिकारको सम्मान गर्दै कानुनी प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरे। साथै, आफू रास्वपाका सांसद मनिष झा र अफसाना बानोसँगै अन्सारीलाई भेट्न गएको उल्लेख गर्दै उनी अझै हिरासतमा छन् वा छैनन् भन्नेबारे समेत स्पष्ट जानकारी नपाएको बताए।

सांसद खरेलले लोकतान्त्रिक व्यवस्थामा फरक विचार राख्ने अधिकारको सम्मान हुनुपर्ने उल्लेख गर्दै आन्दोलनका क्रममा ज्यादतीपूर्ण व्यवहार देखिएको घटनामा नेपाल प्रहरीले औपचारिक रूपमा माफी माग्नुपर्ने धारणा व्यक्त गरे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत