चिनियाँ जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्शुले आज (बुधबार) भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् । तीन दिने नेपाल भ्रमणमा रहेका लीसहितका प्रतिनिधिमण्डलले भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन तथा भ्रमण गरेका हुन् । उनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए ।
सभामुख अग्नि सपकोटाको निमन्त्रणामा औपचारीक भ्रमणका लागि सोमबार काठमाडौं आएका चिनियाँ कांग्रेस अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, लगायत विभिन्न पार्टीका अध्यक्षसंग भेटवार्ता गरेका थिए ।
कांग्रेस अध्यक्ष लीले आज राष्ट्रपति विद्या देवि भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ । उनले दिउँसो ४ बजे राष्ट्रपति भवन शितल निवासमा पुगेर राष्ट्रपतिसंग भेटवार्ता गर्नेछन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनाअनुसार बिहान नौ बजेदेखि काठमाडौंको कालिमाटीदेखि भक्तपुरको सल्लाघारीसम्म र दिउँसो साढे तीन बजे आसपास कालिमाटीदेखि महाराजगञ्जसम्मको सडकमा आवागमन प्रभावित हुनेछ । यी स्थानमा सवारी आवागमन प्रभावित हुने भएपछि वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
सूचनामा सवारी आवागमन प्रभावित हुनुको कारण नखुलाइए पनि ‘विशेष कारणबश’ भनिएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार बिहान ९ बजेदेखि कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर, तिनकुने, जडिबुटी, कौशलटार, मध्यपुर ठिमी र सल्लाघारी क्षेत्रको सवारी साधन प्रभावित हुने छ ।
त्यस्तै आजै दिउँसो साढे ३ बजे आसपासमा कालिमाटी, त्रिपुरेश्वर, जमल, लाजिम्पाटदेखि महाराजगञ्जसम्मको सवारी आवागमन प्रभावित हुने सूचनामा उल्लेख छ । चिनियाँ प्रतिनिधिमण्डल आउ–जाउ गर्दा मंगलबार पनि काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित बनेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ