लजको कोठाभित्र गोप्य रूपमा भिडिओ रेकर्ड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एन्ड लजका म्यानेजर ४२ वर्षीय मुकेश मालीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
लजमा बस्न आउने पाहुनाको गोप्य रूपमा भिडिओ रेकर्ड गरेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि महाराजगन्जबाट खटिएको टोलीले चेक गर्दा उनले गोप्य भिडिओ खिचेको खुलेको हो। प्रहरीले उनको मोबाइल फोन पनि बरामद गरेको छ। जसमा विभिन्न व्यक्तिहरूको रेकर्ड गरिएका भिडिओ फेला परेको छ।
घटनाको विस्तृत अनुसन्धान गर्न प्रहरीले उनको फोन प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ। मालीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा म्याद थप गरेको छ।
उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिन हिरासतमा राख्न अनुमति पाएको छ। यसको अनुसन्धान प्रहरी वृत्त महाराजगन्जले गरिरहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ