शुक्रबार, चैत्र २७, २०८२

सी को तेश्रो कार्यकाल सुरक्षित : हु को अप्रत्याशित बहिर्गमन


कान्तिपथ


चिनियाँ कम्युनिस्ट पार्टीको साता दिन लामो महाधिवेशनको अन्तिम दिन सबैको ध्यान एउटा अनपेक्षित घटनाले खिच्यो। पूर्वराष्ट्रपति हु चिन्ताओलाई दुई सहयोगीले राष्ट्रपति सी चिनफिङको छेउबाट उठाएर सहारा दिँदै बाहिर लगे।

कार्यक्रम नसकिई हुलाई किन त्यसरी बाहिर निकालियो भन्ने स्पष्ट छैन। तर, अलमलमा परेजस्ता वयोवृद्ध हुको बहिर्गमनको भिडिओ विश्वभर सामाजिक सञ्जालमा भाइरल बनेको छ र त्यसले व्यापक बहस सिर्जना गरेको छ। हुलाई अपमानित गरिएकोदेखि उनको स्वास्थ्य अस्थिर रहेकोसम्मका अड्कलबाजी पनि गरिए।

महाधिवेशन समापन समारोहको सुनियोजित कार्यक्रममा यो अचानक भएको घटना थियो। त्यसबाहेक सम्पूर्ण कार्यक्रम नियत तरिकाले सम्पन्न भए। जसमा सी चिनफिङलाई आधिकारिक रुपमा तेस्रो कार्यकालका महासचिव चयन गरियो भने २ हजारभन्दा बढी प्रतिनिधिले सीको प्रतिवेदन एकमतले पारित गरे।

२०५ सदस्यीय नयाँ केन्द्रीय समिति पनि निर्वाचित भएको छ। जसले पोलिट्ब्युरो चयन गर्नेछ। आइतबार स्थायी समितिमा बस्ने सात शीर्ष नेता को को हुन् भन्ने सार्वजनिक हुनेछ। जुन सी चिनफिङको कोर टिमका रुपमा आगामी पाँच वर्षका लागि रहनेछ।

शनिबार बेइजिङको समयअनुसार ११ बजेतिर सबैको ध्यान ७९ वर्षीय हुमा केन्द्रित भएको थियो। हु सी र स्थायी समिति सदस्य ली चान्सुको बीचमा बसेका थिए। त्यसबेला पत्रकारहरुलाई सम्मेलनस्थलमा प्रवेश दिइसकिएको थियो।

एएफपीको फुटेजअनुसार हु बसेको ठाउँमा दुई सहयोगी पुगे र उनलाई उठ्ने आग्रह गरे। हु द्विविधामा परेजस्तो देखिए र उनले सीको अगाडि रहेको दस्तावेज समात्न खोजे। तर, हुको दस्तावेज ली चान्सुले पहिले नै सहयोगीहरुलाई दिइसकेका थिए।

कुर्सीबाट उठिसकेपछि बाहिरिनुअघि हुले सीलाई केही भने। जवाफमा सीले मुन्टो हल्लाए। हुले जाँदाजाँदै आफ्ना शिष्य तथा प्रधानमन्त्री ली खछ्याङको कुम थप्थपाए।

हुका अर्का शिष्य उपप्रधानमन्त्री हु चुनहुवा निष्फिक्री बसिरहे। हु बाहिरिएपछि बाँकी कार्यक्रमभर सीको छेउको कुर्सी खाली रह्यो। आगामी मार्चबाट अवकाश पाउने निश्चित भएका ली खछ्याङ र वाङ याङ भने आरामले कुर्सीमा अडेसिएर बसेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत