आइतवार, चैत्र २९, २०८२

बुटवलमा पहिलो पटक स्थायी संरचनामा औद्योगिक प्रदर्शनी


कान्तिपथ


रुपन्देही । बुटवलमा अस्थायी संरचनामा औद्योगिक प्रदर्शनी गर्न लागेको ३५ वर्षपछि स्थायी संरचनामा सुरु भएको छ । 

लामो समयदेखि अस्थायी संरचनामा प्रदर्शनी तथा महोत्सव गर्दै आएका बुटवल क्षेत्रका उद्योगी व्यवसायीले पहिलो पटक स्थायी संरचनामा प्रदर्शनी गर्न पाएका हुन् ।

यस क्षेत्रका उद्योगी व्यवसायीले माग गर्दै आएको स्थायी प्रदर्शनी स्थल बुटवल मण्डपमा तयार भएपछि हरेक वर्ष अस्थायी संरचनामा हुने लाखौँ रकम बचत हुनुको साथै हावाहुरी र पानीका कारण हुने क्षतिसमेत कम हुने भएको छ भने निर्माणमा हुने झन्झटसमेत कम भएको छ । 

रुपन्देही उद्योग सङ्घले २०४५ सालमा पहिलो पटक काठमाडौँबाहिर बुटवलमा औद्योगिक प्रदर्शनीको आयोजनाको सुरुवात गरेपछि त्यसयता मेला प्रदर्शनीले निरन्तरता पाउन थालेको हो ।  

अहिले सङ्घले नै पहिलो पटक यहाँ निर्माण भएको स्थायी प्रदर्शनी स्थलमा प्रदर्शनी सुरु गरेको हो । 

पहिले रुपन्देही उद्योग संघ र बुटवल उद्योग वाणिज्य सङ्घले गर्ने प्रदर्शनी र मेला व्यावसायिक सङ्घसंस्था बढ्दै जान थालेपछि आलोपालो गर्न थालेका हुन् ।  

अहिले उद्योग संघ, वाणिज्य संघ, रुपन्देही व्यापार संघ र नेपाल उद्योग व्यापार सङ्गठनले हरेक वर्ष आलोपालो रूपमा औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्न थालेका हुन् । 

गएका दुई वर्ष कोभिड महामारीका कारण औद्योगिक प्रदर्शनीलगायतका सबै गतिविधि बन्द भएका थिए । 

बुटवलमा प्रदर्शनीको सुरुवात गरेको रुपन्देही उद्योग सङ्घले बुटवल मण्डपमा तयारी हुँदै गरेको स्थायी प्रदर्शनी स्थलमै पहिलो १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव आयोजना गरेको हो । 

नेपाल उद्योग परिसङ्घ र लुम्बिनी प्रदेश उद्योग परिसङ्घसँगको संयुक्त आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ पुस ७ गतेदेखि १९ गतेसम्म हुने प्रदर्शनीको बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्नुभयो ।

कोभिडपछिको पहिलो प्रदर्शनी भएकोले मात्र होइन, बुटवल मण्डपमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक हुन गइरहेकोले यस पटकको प्रदर्शनीलाई उद्योगी व्यवसायीहरूले विशेष महत्त्वका साथ हेरिरहेका छन् । 

पूर्व अर्थमन्त्री तथा रुपन्देहीबाट प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले यसअघि उद्योगी व्यवसायीहरूसँग गरेको प्रतिविद्धताअनुसार स्थायी संरचनाका लागि जग्गा व्यवस्थापन, बजेट विनियोजन तथा समयमै निर्माण पूरा गर्नका अथक मेहनत गरेकाले सम्भव भएको रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष बाबुराम बोहोरा बताउनुहुन्छ । 

नेपाली सेनाले प्रयोग गरेको १६ बिगाहा जग्गा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा पूर्व अर्थमन्त्री विष्णु पौडेल, पूर्व सांसद स्व. सूर्यप्रसाद प्रधान, अहिलेका गृहमन्त्री बालकृष्ण खाणको समन्वयमा बुटवलले भोगचलन गर्न पाएको बुटवलका नगर प्रमुख खेलराज पाण्डेले बताउनुहुन्छ । 

उद्योगीहरूको हकहित संरक्षण र संवद्र्धन गर्दै देशको औद्योगिक विकासमा टेवा पु¥याउने उद्देश्यसहित झण्डै ३५ वर्षदेखि औद्योगिक प्रदर्शनी र मेला महोत्सव गर्दै आएका बुटवलका उद्योगीहरूले लामो समयदेखि स्थायी प्रदर्शनी स्थलको माग गर्दै आएका थिए ।

सुरुका वर्ष हाल लुम्बिनी बस टर्मिनल रहेको स्थानबाट प्रदर्शनी तथा मेला महोत्सव आयोजना गर्दै आएका उद्योगी व्यवसायीले त्यसयता सडक विभाग परिसर र बुटवल मण्डपमा अस्थायी संरचना निर्माण गरी प्रदर्शनी आयोजना गर्दा धेरै रकम खर्च हुँदै आएको थियो ।

प्रदर्शनीको लागि अस्थायी रूपमै तयार हुने प्रवेशद्वार, स्टल, मञ्च लगायतका संरचना निर्माणमै बर्सेनि ५० लाखभन्दा बढी रकम खर्च गर्न आयोजक संस्थाहरू बाध्य भइरहेका थिए ।

यस पटक भने प्रदर्शनी केन्द्रको निर्माणको सम्पूर्ण काम पूरा भइनसके पनि निर्माणाधीन स्थायी प्रदर्शनी केन्द्रमै प्रदर्शनी आयोजना गरिएको छ ।

बुटवल मण्डपमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमतर्फ एक अर्ब दुई करोडको लागतमा प्रदर्शनी केन्द्रको निर्माण कार्य भइरहेको छ ।  

६ दशमलव ४ बिघा क्षेत्रफलमा सहरी विकास मन्त्रालयमार्फत निर्माणाधीन प्रदर्शनी केन्द्र सरकारीस्तरको नेपालको सबभन्दा ठूलो प्रदर्शनी केन्द्र रहेको दाबी गरिएको छ । यहाँ एउटा ठूलो प्रदर्शनी हल निर्माण भइरहेको छ भने दुई वटा बैठक हल, प्रशासनिक भवन र खाजा घरको निर्माण कार्य जारी छ ।

१२ हजार स्क्वायर मिटरमा निर्माण हुने ठूलो प्रदर्शनी हलमा चार स्क्वायर मिटरका साढे तीन सय स्टल सहभागी हुनसक्ने छन् । त्यही हलमा यस पटक प्रदर्शनी आयोजना गरिएको छ । 

बैठक हल भने एउटा साढे तीन सय स्क्वायर मिटर र अर्को साढे दुई सय मिटर स्क्वायर मिटरका निर्माण भइरहेका छन् । सबै हलको निर्माण कार्य सम्पन्न हुँदा झण्डै साढे ८ सय स्टल सहभागी हुनसक्ने छन् ।

बाहिरबाट हेर्दा तीन वटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रमा आवश्यकताअनुसार अलग÷अलग गर्न मिल्ने गरी डिजाइन गरिएको छ । जहाँ एकै पटक १० हजार जनाले अवलोकन गर्नसक्ने छन् ।

त्यस्तै, २० हजार अटाउन सक्ने हल, दुई हजार जनाले एकै पटक खाजा खाना सक्ने गरी फुड कोर्ट पनि निर्माण भइरहेका छन् । बुटवल मण्डपको लागि जग्गा छुट्टाएपछि कम्पाउण्ड वाल निर्माण गर्दा नै बुटवल उपमहानगरपालिकासँगै रुपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ र रुपन्देही व्यापार सङ्घले ५/५ लाख रुपैयाँ लगानी गरेका थिए । ढिलै भए पनि स्थायी प्रदर्शनी केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको र पहिलो पटक स्थायी प्रदर्शनी केन्द्रमा प्रदर्शनी आयोजना गर्न पाउँदा उद्योगी व्यवसायीले खुसी व्यक्त गरेका छन् ।

प्रदर्शनी आयोजक रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल नयाँ संरचनामा प्रदर्शनी आयोजना गर्न लागिएकोले विगतका प्रदर्शनीभन्दा फरकपन दिन खोजेको बताउनुहुन्छ । 

निर्माणाधीन अवस्थामै रहेको संरचनामा प्रदर्शनी आयोजना गर्दा केही चुनौतीको सामना गर्नुपरे पनि खुला आकाशमुनि टेन्ट टाँगेर प्रदर्शनी गर्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो ।  

नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम प्रदर्शनीमार्फत विदेशका औद्योगिक प्रतिष्ठानसँग नेपालका उद्यमीलाई प्रतिस्पर्धा गर्नसक्ने वातावरण तयार गर्न प्रदर्शनी सफल हुने बताउनुहुन्छ ।

महिला उद्यमी जमुना पोखरेलले स्थायी प्रदर्शनी स्थल भएपनि उद्योगीहरूलाई धेरै सहज भएको र प्रदर्शनीमार्फत उपभोक्तालाई आफ्ना उत्पादनबारे जानकारी दिन सकिने बताउनुभयो । 

प्रदर्शनीमा अवलोकनकर्ताहरूलाई सहज बनाउन छुट्टाछुट्टै उत्पादन र वस्तुको प्रदर्शन तथा बिक्रीका लागि अलग अलग पेभिलियनको व्यवस्था गरिएको छ ।

१० वटा पेभिलियनमा करिब ४ सय ५० स्टल रहेका छन् । प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनको सहभागिताका लागि छुट्टाछुट्टै पेभिलियनको व्यवस्था गरिएको छ । 

स्वदेशी उत्पादनहरूको प्रदर्शन तथा बजारीकरणसँगै प्राविधिक र व्यवस्थापकीय अनुभवको आदानप्रदान र नेपाली उद्योगका लागि अवसरको खोजीको कडीको रूपमा प्रदर्शनीलाई लिइएको छ । 

प्रदर्शनीमा औद्योगिक प्रविधि, सूचना प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, आइटी लगायतका उत्पादन र वस्तुका स्टल छन् । 

स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन गरिएको छ ।   

प्रदर्शनीमा ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत