बुधबार, चैत्र २५, २०८२

प्लास्टिक टनेलमा कालो लेउको समस्या


कान्तिपथ


बलेवा। प्लाष्टिक घर (टनेल)मा कालो लेउको समस्या देखिन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका व्यावसायिक किसान मर्कामा परेका छन् । व्यावसायिक तरकारी खेतीका लागि तयार पारिएका प्लास्टिक घर कालो लेउले छोपिएको छ । प्लास्टिकमा लेउ लागेपछि हिउँदमा तापक्रम नपुग्ने र उत्पादन घट्ने गरेको किसानको गुनासो छ ।

गतवर्ष बनाइएका प्लास्टिक घर यो वर्षको हिउँदसम्म कालै भएका छन् । वर्षाको समयमा पानीका कारण कालो लेउ लागेका प्लास्टिक पखाल्ने प्रविधि नहुँदा समस्या भएको जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान त्रिविक्रम शर्माले बताउनुभयो । ‘‘टनेलमाथि चडेर सफा गर्न मिल्दैन्” उहाँले भन्नुभयो “प्लास्टिक सफा गर्ने प्रविधिको खोजी गर्न प्राविधिकलाई आग्रह गरेका छौँ ।’’ एक पटक सफा गरे छ महिना प्लास्टिक सफा रहने गरेको अनुभव शर्माले सुनाउनुभयो ।

जैमिनीमा रहेका अधिकांश प्लास्टिक घरमा कालो लेउको समस्या छ । किसानले भ¥याङको प्रयोग गरेर लेउ सफा गरे पनि अत्याधुनिक र ठूला टनेलहरुमा समस्या हुने गरेको छ । लेउ लागेको प्लास्टिकभित्र सूर्यको प्रकाश नपुग्ने र त्यहाँ लगाइएका बिरुवा नबढ्ने तथा उत्पादन कम दिने गरेको अनुभव किसानसँग छ ।

‘‘पहिलो वर्ष फलेको जस्तो गालभेँडा दोस्रो वर्ष फलेन, मलपानीको समस्या होला भनेर खोजी गरेँ’’ अर्का किसान मदन आचार्यले भन्नुभयो,‘‘रोगकीराको सङ्क्रमणसमेत देखिन थालेपछि प्लास्टिकको लेउका कारणले हो भन्ने लागेको छ ।’’ लेउ सफा गरेको समय र लेउले भरिएको समयमा भएको फरक–फरक उत्पादनको अनुभव किसानसँग छ ।

किसानले कालो लेउको समस्याबारे कृषि ज्ञान केन्द्र बागलुङलाई पनि जानकारी गराएका छन् । उत्पादनमा असर गरेपछि ज्ञानकेन्द्रका र नगरपालिकाका कृषि प्राविधिकलाई जानकारी गराइएको फलाँटे कृषि सहकारीका अध्यक्ष मोतीप्रसाद पौडेलले बताउनुभयो । किसानका समस्याबारे जानकारी भए पनि तत्कालै साधानको उपाय नभएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । ‘‘सफा गर्ने मेसिनको खोजे सहयोग गर्छौ भनेका छौँ’’ उहाँले भन्नुभयो,‘‘फोहोरा लगाएर प्लास्टिक सफा गर्न सके किसानको समस्या समाधान हुन्छ ।’’

लेउका कारण टनेल बनाइएको प्लास्टिकको आयुसमेत घटेको किसानको गुनासो छ । पाँच÷छ वर्ष पहिले यस्तो समस्या नभए पनि पछिल्लो समय आँफूहरुले प्लास्टिक फाट्ने, च्यातिने गरेको समस्या व्यहोरेको किसान लक्ष्मी शर्माले बताइन् । जैमिनीमा किसानले प्लास्टिक घरभित्र तरकारी उत्पादन गर्दै आएका छन् । विभिन्न प्रजातीका च्याउसमेत किसानले प्लास्टिक घरभित्रै उत्पादन गर्दै आएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत