बुधबार, चैत्र २५, २०८२

बाढी पहिरो अपडेटः ६ जनाको मृत्यु, ६ घाइते २९ बेपत्ता


कान्तिपथ


काठमाडौं । अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरोमा परी आज अपराह्नसम्म ६ जनाको मृत्यु भएको छ ।

बाढी तथा पहिरामा परी सङ्खुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी जम्मा ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमध्ये पाँच पुरुष र एकजना बालिका रहेका छन् ।

साथै बाढी एवं पहिरोमा परी सङ्खुवासभामा तीन, ताप्लेजुङमा दुई र पाँचथरमा एक गरी जम्मा ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढी पहिरामा परी सङ्खुवासभामा २१, ताप्लेजुङमा तीन र पाँचथरमा पाँचजना गरी जम्मा २९ जना बेपत्ता अझै बेपत्ता भएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर बडायतले बताउनुभयो । बेपत्ताको खोजी कार्य जारी रहेको पनि उहाँले बताउनुभयो ।

बाढी एवं पहिराका कारण ३५ घर, १० गोठ, १३ पुल, पाँच उद्योग र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६७ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ९७ घरपरिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिराको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नाका साथै विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत प्रहरीले हटाउने कार्य गरिरहेको छ । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत