दाङ- काँक्रामा फल नलागेपछि दाङका किसान चिन्तित बनेका छन् । स्थानीय तहले ५० प्रतिशत अनुदानमा वितरण गरेको काँक्राको बीउमा कैफियत देखिएको हो ।
लमही नगरपालिकाले अनुदानमा वितरण गरेको बीउ रोपेका किसानले काँक्राको राम्रो सँग फल नलागेका कारण आफुहरु ठगिएको गुनासो गरेका छन् ।
लमही नगरपालिका वडा नं ६ कुलमोहर निवासी डिलबहादुर आलेले १२ कट्ठा जग्गा भाडामा लिएर राधिका जातको काँक्रा रोप्नु भएको थियो । अहिले सो काँक्रामा धमाधम फल लाग्नुपर्ने भएपनि कताकती मात्र फल लागेको छ ।
एक सय ५० क्वीन्टल काँक्रा विक्रि गर्ने आशामा बस्नु भएका किसान आलेले अहिलेसम्म जम्मा १४ हजार रुपैयाँमा ७ क्वीन्टल मात्रै काँक्रा विक्रि गर्नु भएको छ ।

किसानले अनुदानमा पाएको काँक्राको बीउमा कैफियत देखिएको हो । राम्रो सँग फूल खेलेपनि फल नलाग्ने, लागी हालेपनि तितोपन बढी हुँदा उपभोक्ताले नरुचाउने गरेका छन् । किसानले मेहनत गरेर खेती गरेपनि त्यसबाट लाभ पाउन नसक्दा चिन्तित देखिएका छन् ।
स्थानीय सरकारले उपलब्ध गराउने बीउहरुको गुणस्तरमा ध्यान दिन पनि आग्रह गरिएको छ । आफुले रोपेको काक्रामा पनि फल नलागेको स्थानीय किसान सुमित्रा वलीले बताउनु भयो ।
लमही नगरपालिकाले भने अनुदानको बीउमा कुनै समस्या नरहेको बताएको छ । कृषि शाखाले अन्य किसानलाई पनि सोही बीउ दिइएको भएपनि कुनै गुनासो नआएको जनाएको छ ।
फल नलाग्नुमा बीउ मात्रै दोषी नहुने भन्दै कहिले खेती गरियो, कसरी गरियो भन्ने कुरा महत्वपूर्ण हुने जनाइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ