बुधबार, चैत्र २५, २०८२

सोमबारदेखि बढी पानी पर्ने सम्भावना


कान्तिपथ


काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तुलनात्मक रूपमा आगामी सोमबार र मङ्गलबार बढी मनसुनी वर्षा हुनेछ । पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि आजबाट केही मात्रामा कम वर्षा भएको छ । आज राति पनि भारी वर्षाको सम्भावना छैन ।

“मनसुन आज र भोलिलाई सामान्य छ । शनिबार र आइतबारको तुलनामा सोमबार र मङ्गलबार बढी वर्षा हुने सम्भावना छ । भोलि दिउँसोका लागि विगतको तुलनामा कमै वर्षा हुने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो । उहाँको भनाइमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा तल रहँदा नेपालमा कम वर्षा हुने सम्भावना छ ।

सङ्घीय राजधानी काठमाडौँमा आज राति हल्का वर्षाको सम्भावना छ भने भोलि दिउँसो मध्यम वर्षाको अनुमान गरिएको छ ।

यसैबीच महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलि दिउँसो मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी पोखरामा एक सय ५५ मिलिमिटर वर्षा मापन गरिएको छ । लुम्लेमा एक सय ३४ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी ओखलढुङ्गामा ७२, जिरीमा ४२, भैरहवामा ३७, धनगढीमा ३२ र काठमाडौँमा ३४ मिलिमिटर वर्षा मापन गरिएको छ ।
रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत