बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • पूर्व सुरक्षा उच्च अधिकारीहरूको चेतावनी : “राजनीतिक निकास नआए सुरक्षा चुनौती थपिन्छ”

पूर्व सुरक्षा उच्च अधिकारीहरूको चेतावनी : “राजनीतिक निकास नआए सुरक्षा चुनौती थपिन्छ”


कान्तिपथ


पूर्व सुरक्षा निकायका उच्च अधिकारीहरूले मुलुकमा विद्यमान अन्योल अवस्था लामो समयसम्म रहिरहे गम्भीर सुरक्षा चुनौती थपिने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले तत्काल समस्या समाधान हुनेगरी राजनीतिक निकास दिन आवश्यक रहेको जोड दिएका छन्।

६ जना पूर्व सुरक्षा प्रमुखहरूले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्लो आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी इकाईलाई शीघ्र सुदृढ बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

विज्ञप्ति जारी गर्नेमा पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरा, पूर्व अतिरिक्त महानिरीक्षकहरू विनोद सिंह, रमेश कुमार श्रेष्ठ, सुरेन्द्रबहादुर शाह, सहायक प्रहरी अतिरिक्त महानिरीक्षक नारायण बाबु थापा र राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देविराम शर्मा रहेका छन्।

विज्ञप्तिमा भनिएको छ, “मुलुक संवेदनशील अवस्थामा पुगेको यस घडीमा नागरिकको जीवन र सम्पत्तिको सुरक्षा सबैको साझा जिम्मेवारी हो। तर, सरकारबिनाको अन्योल दीर्घकालीन भए अवाञ्छित समूहलाई सक्रिय हुने अवसर मिल्न सक्छ, जसले सुरक्षा चुनौती बढाउनेछ।”

पूर्व अधिकारीहरूले आन्दोलन नियन्त्रणका क्रममा संयमता अपनाउन, न्यूनतम बल प्रयोगको सिद्धान्त पालना गर्न तथा मानवअधिकारलाई प्राथमिकता दिन सुरक्षाकर्मीलाई आग्रह गरेका छन्।

यस्तै, हालै कैदीबन्दीहरू कारागारबाट भागेका घटनाले थप सुरक्षा चुनौती उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले भनेका छन्, “देशभरका निजी सम्पत्ति, सिंहदरबार, राष्ट्रपति भवन, प्रहरी कार्यालयसहितका संरचना क्षतिग्रस्त हुनुका साथै करिब १३ हजार कैदीबन्दी कारागारबाट भाग्नु गम्भीर सुरक्षा चुनौती हो। प्रहरीको लामो अनुसन्धानपछि पक्राउ परेका अपराधी पुनः समाजमा फर्कनुले नागरिकमा भय बढाएको छ।”

भदौ २३ र २४ गते जेन-जी युवाहरूको आह्वानमा भएको आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पूर्व सुरक्षा प्रमुखहरूले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न मागसमेत गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत