रामेछाप । रामेछाप नगरपालिका–२ स्थित सिरुबारी क्षेत्रमा मतदान सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
सोमबार देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको थियो। दुर्घटनामा प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार घाइते मतदान अधिकृत डोरप्रसाद घिमिरेको पनि उपचारका क्रममा मन्थली अस्पतालमा निधन भएको छ। घिमिरेलाई रामेछाप नगरपालिका–२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी दिइएको थियो। उनी रामेछाप नगरपालिका–३ स्थित साँघुटारको रुद्राक्षश्वर माध्यमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिए।
दुर्घटनामा घाइते सात जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए। गाडीमा निर्वाचन कर्मचारी र मतदान सामग्री रहेको थियो।
घाइतेहरूमा भीमबहादुर मानन्धर (शिक्षक), सम्बरबहादुर मानन्धर (चालक), कृष्णप्रसाद घिमिरे (शिक्षक), दुर्गा कार्की, सविना खड्का, केदारकुमार रोका र पूजादेवी सुनुवार रहेका छन्। दुर्घटनाको थप विवरण आउन बाँकी छ।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ