सिन्धुली — जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको मृत्यु भएपछि दोषीलाई कारबाही र क्षतिपूर्ति माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् । बीपी राजमार्गअन्तर्गत सिन्धुलीमाडी–खुर्कोटखण्डको पिपलभन्ज्याङमा बुधबार बिहान साढे ११ बजेदेखि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
प्रहरीका अनुसार बीपी राजमार्ग भएर पिपलभन्ज्याङ–पचभैया जाने सडकमा प्रदेश ३–०१–०२४ च १४१९ नम्बरको बोलेरोले पैदलयात्री ३९ वर्षीय विजय मोक्तानलाइ ठक्कर दिँदा गम्भीर घाइते भई उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । मोक्तानलाई मंगलबार राति जिपले ठक्कर दिएको थियो ।
चालकको लापर्बाहीले पैदलयात्रीलाई ठक्कर दिई मृत्यु भएको भन्दै कमलामाई नगरपालिका २ भद्रकालीका स्थानीय राजमार्ग अवरुद्ध गरेपछि लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका छन् ।
जिप चालक आइतसिङ लामालाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको र अवरुद्ध राजमार्ग खुलाउन वार्ता भइरहेको सिन्धुली प्रहरीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ