सोमवार, माघ २८, २०८१

गोरखामा जिप दुर्घटना : ज्यान गुमाएकाको पहिचान


कान्तिपथ


गोरखामा जिप दुर्घटनामा परी मृत्यु भएका तिनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौँ महानगरपालिका–१६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज कोइरालाले जानकारी दिनुभयो ।

सिरानचोक गाउँपालिका–५ मा पर्ने आरुबोटेमा सोमबार साँझ करिब ७ बजे दुलही लिएर फर्कने क्रममा रोकिराखेको बा१४च ७८१ नंको स्कोपियो जिप भिरबाट खसेर दुर्घटनामा परेको थियो । जन्ती चढ्ने क्रममा एक जनाले ह्याण्डब्रेक चलाइदिएका कारण सो दुर्घटना भएको उहाँले बताउनुभयो ।

चालक चढ्न नपाउँदै जन्ती चढ्ने क्रममा सो घटना भएको थियो । जिप आरुबोटेस्थित फिरफिरे भिरबाट झण्डै २०० मिटर तल खसेको थियो । जिपमा पाँच जना सवार रहेकामा अन्य दुई जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ । मृतक तिनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । शव परीक्षण गरी अन्त्येष्टिका लागि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत