शुक्रबार, चैत्र २७, २०८२

पाल्पा बस दुर्घटना: चालकले मदिरा सेवन गरेको पुष्टि


कान्तिपथ


पाल्पा, पुस २३ गते । छ जना निर्दोष यात्रुको ज्यान जाने गरी भएको दुर्घटनामा चालकले गम्भीर लापरबाही गरेको पुष्टि भएको छ । चालकले मदिरा सेवन गरेर जबरजस्ती बस चलाउँदा छ जना यात्रुको ज्यान गएको पुष्टि भएको हो । 

बिहीबार राति १० बजेतिर भएको दुर्घटनामा एकै गाउँका छ जनाको ज्यान गयो भने १८ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । दुर्घटनापछि सिङ्गो खुर्साने गाउँ शोकमा डुबेको छ । 

दुर्घटनामा परेको बसको चालकले मदिरा (रक्सी) सेवन गरेर बस गुडाएको घाइते यात्रुको भनाई छ । चालक तथा सवारी धनीले मादक पदार्थ सेवन गरेर झगडा समेत गरेका थिए । उक्त सडक खण्डको टारीमा डेढ घण्टा बस रोकेर मादक पदार्थ सेवन गरेको स्थानीय बासिन्दाको भनाई छ । ‘पहिले नै सवारी धनीले मादक पदार्थ सेवन गरेर आएका थिए, टारीमा पनि ड्राइभर बसबाट झरेर मादक पदार्थ सेवन गरेको एक जना प्रत्यक्षदर्शीले भन्नुभयो ।’ 

दुर्घटना हुनुभन्दा पाँच मिनेटअघि पनि चालकले ढिकमा बस चढाएपछि यात्रुले बस रोक्न अनुरोध गरेका थिए । तर चालकले जबरजस्ती गरेर बस गुडाएको केही समयमै बस दुर्घटनामा परेको घाइते लीला गाहाले बताउनुभयो । दुर्घटना हुनुभन्दा पाँच मिनेटअघि बस ढिकमा चढेपछि महिला यात्रुहरूले चालकलाई हामी हिडेर जान्छौँ, बस रोक्नुस् भनेका गाहाले बताउनुभयो । 

दुर्घटनाको विषयमा चालकले भने स्टेरिङमा आएको गडबडीका कारण दुर्घटना भएको प्रहरीलाई बताउने गरेका छन् । मदिरा सेवन गरेर बस हाँक्ने चालक समेत घाइते अवस्थामा उपचाररत छन् । बस दुर्घटनाको कारणबारे रैनदेवी छहरा–८ का वडा अध्यक्ष रेमबहादुर रानाले चालकले मादक पदार्थ सेवन गरेको बताउनुभयो । चालकले मदिरा सेवन गरेर बस चलाएको यात्रुले गुनासो गरेको वडाध्यक्ष रानाले बताउनुभयो । दुर्घटना हुने कल्पना नगरेको स्थानमा  बस दुर्घटनामा परेको उहाँले बताउनुभयो । 

मदिरा सेवन गरेर जबरजस्ती सवारीसाधन गुडाउनमा सवारी धनीको समेत हात रहेको घाइते यात्रुको आरोप छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले पनि चालकको स्वास्थ्य परीक्षणबाट मदिरा सेवन गरेको पुष्टि भएको जनाएको छ । ‘बसका चालकले  मदिरा सेवन गरेर सवारीसाधन चलाएको रिपोर्ट प्राप्त भएको छ प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले भन्नुभयो ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत