काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।
काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए।
जहाज पाइलट कमल केसीले उडाएका थिए।
हाल सम्म प्राप्त सूचना अनुसार यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार ११ जना विदेशी नागरिक र ३ जना बालबालिका सहित ६८ यात्रु छन्। जसमा ४१ जना महिला र २७ पुरूष छन्।
पाइलटले बस्ती जोगाउन विमान सेती खोंचतिर लगेको देखियो : प्रत्यक्षदर्शी

पोखरामा भएको विमान दुर्घटनामा चालक दलले दुर्घटनाबाट बस्ती जोगाउन हरसम्भव प्रयास गरेको देखिएको छ ।
दुर्घटनास्थलमा उद्धारमा खटिएका सुरक्षाकर्मीहरुकाअनुसार विमान पुरानो आन्तरिक विमानस्थलको पूर्वपट्टि रहेको नेपाली सेनाको ब्यारेक पछाडि खसेको हो । नयाँ विमानस्थलतर्फ ल्याण्ड गर्नका लागि मोडिएको अवस्थामा विमान घनाबस्ती माथि उडिरहेको थियो ।
पोखराको फेवातालको ड्यामसाइड दक्षिणतर्फबाट पूर्वतर्फ मोडिएर नयाँ विमानस्थलतर्फ अघि बढ्दै गर्दा विमान खसेको प्रत्यक्षदर्शी र उद्धारमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । ‘विमान एक मिनेट मात्रै ढिला दुर्घटना परेको भए पुरानो विमानस्थल माथि खस्ने थियो’ एक उद्धारकले भने, ‘एक मिनेट मात्रै थप अघि बढेको भए रामघाट बजार माथि जहाज बजारिने थियो ।’
उद्धारको निरीक्षण गर्न प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एटीसी) पुगेका छन् । पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थिति बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा आफैं हेर्न गएको उनको सचिवालयले जानकारी दिएको छ । विमान दुर्घटनाको बिषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ