बझाङ । बझाङको साइपाल गाउँपालिका–३ काँडास्थित काँडा माध्यामिक विद्यालयको कक्षाकोठा भवनको छानो हावाहुरीले उडाएको छ ।
जस्तापाताले छाएको विद्यालयको छानो शनिबार आएको हावाहुरीले उडाएको हो ।
हावाहुरीले विद्यालयको दुई तले ४ कोठे भवनमा क्षति पुर्याएको प्रधानाध्यापक रमेश बहादुर जेठाराले बताउनुभयो ।
वार्षिक परीक्षा सकिएर पठनपाठन बन्द भएको समयमा हावाहुरीले छानो उडाएकाले मानवीय क्षति हुनबाट जोगिएको र नयाँ शैक्षिक सत्र सुरु हुने समयमा विद्यालय भवनको छानो उडाएपछि भर्ना अभियान र पठनपाठन सञ्चालन गर्न समस्या हुने भएको प्रधानाध्यापक जेठाराले बताउनुभयो ।

विद्यालयले आजदेखि भर्ना अभियान र १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने कार्यतालिका बनाएको भए पनि भवन मर्मत नभएसम्म पठनपाठन सञ्चालन गर्न कठिन हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बोहराले बताउनुभयो ।
२०७९ सालको भर्ना सङ्ख्या अनुसार करिब ३ सय विद्यार्थी पठनपाठन गर्ने उक्त विद्यालयमा हावाहुरीले १२ लाख बराबरको क्षति गरेको अध्यक्ष बोहराको भनाई छ ।
हावाहुरीले विद्यालयको पर्खाल समेत चर्किएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ