शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • दुर्घटना
  • दार्चुला हिमपहिरो अपडेट: बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाई

दार्चुला हिमपहिरो अपडेट: बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाई


कान्तिपथ


दार्चुला- दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर रहेका छन् ।
दुवैजना आमाछोरा हुन् । यस्तै डोटीको जोरायल गाउँपालिकाका ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा समेत हिमपहिरोमा बेपत्ता भएका छन् ।

गए रातिदेखिको लागातारको वर्षा तथा हिमपातका कारण बेपत्ताको उद्धारमा कठिनाई भएको डिएसपी भट्टले बताउनुभयो । “रातिदेखि वर्षा र हिमपात एकसाथ भइरहेको छ, उद्धारका लागि लेकतर्फ उक्लिन सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो–“हिमपात रोकिएपछि घट्नास्थलमा जाने तयारीमा छौँ ।”

मङ्गलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा सङ्कलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । केही व्यक्तिले भागेर ज्यान जोगाएका थिए । डिएसपी भट्टको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली मङ्गलबार साँझ घट्नास्थलमा पुगेको थियो । वर्षा र हिमपातका कारण उद्धारमा कठिनाई भएपछि सो सोली गए राति छाङरुस्थित गुल्ममा फर्किएको थियो ।

“घटनास्थल वरपर बाक्लो हिमपात भएकाले बस्नै सकिएन, राति अँध्यारोमा हिउँ पन्छाउन सकिने अवस्था थिएन”, डिएसपी भट्टले भन्नुभयो । हिमपहिरोबाट जोगिएका २० जना यार्सागुम्बा सङ्कलकलाई आफूसँगै सुरक्षित स्थानमा ल्याएर राखिएको बताउनुभयो ।

वर्षा र हिमपातका कारण यार्सागुम्बा सङ्कलन प्रभावित बनेको छ । सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए । उनीहरू यार्सागुम्बा सङ्कलन गर्नका लागि हिउँ पग्लिने पर्खाइमा थिए । यार्सागुम्बा सङ्कलन गर्न दार्चुलाबाहेक अन्य जिल्लाबाट पनि सर्वसाधारण सो क्षेत्रमा पुगेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत