शुक्रबार, चैत्र २७, २०८२

ट्रक दुर्घटना अपडेट : तीनजनाको मृत्यु, दुई जना गम्भीर घाइते


कान्तिपथ


मकवानपुर। मकवानपुरमा दुईवटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । दुईवटा ट्रक ठोक्किएर भएको आगलागीमा ट्रकमा रहेका पाँच जनामध्ये तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ । 

पूर्व पश्चिम सडक खण्डमा हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक मकवानपुरको मनहरी गाउँपालिका–६, स्थित नयाँबस्ती डिपाट गाउँमा एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

दुर्घटना ज्यान गुमाउनेमा ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक चितवनको राप्ति नगरपालिका–८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, सोही ट्रकका सहचालक गोरखाको गण्डकी गाउँपालिका–२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मनहरी गाउँपालिका–३ का २० वर्षीय अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । 

मृतक तीनै जनाको शव हेटौँडा अस्पतालमा राखिएको छ भने, दुर्घटनामा घाइते भएका ट्रकमा सवार चितवनको राप्ति नगरपालिका–३ का विवेक तामाङ र एउटा ट्रकका चालक मकवानपुर मनहरी गाउँपालिका–३ का अर्जुनकुमार प्रजालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राति करिब २ बजे दुवै ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । ट्रकमा लागेको आगो दमकलको सहयोगमा बिहान निभाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत