बुधबार, माघ २, २०८१

४४ अर्बमा किनेको ट्वीटरको मूल्य एक वर्षमै २५ अर्ब डलरले घट्यो


कान्तिपथ


काठमाडौं । गत वर्ष अक्टोबरमा एलन मस्कले ४४ अर्ब डलरमा खरिद गरेको ट्वीटर (हाल एक्स)को बजारमूल्य एक वर्षमै २५ अर्बले घटेर १९ अर्ब डलरमा पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लुमबर्गका अनुसार एक वर्षमा एक्सकाे बजारमूल्यमा ५५ प्रतिशत गिरावट आएको हो ।

गत अप्रिलमा विश्लेषक टकर कार्ल्सनले अन्तर्वार्तामा मस्कले ट्वीटरको मूल्यभन्दा दोब्बर बढी मूल्य तिरेर खरिद गरेको उल्लेख गरेका थिए । गत मार्चमा लिक भएको कम्पनीको विवरणमा मस्क आफैंले पनि एक्सको मूल्य २० अर्ब हाराहारी भएको उल्लेख थियो ।

ट्वीटर आफ्नो स्वामित्वमा भएपछि मस्कले त्यसमा थुप्रै परिवर्तन गरे । लिगेसी चेकमार्क हटाउने, कम्पनीको नाम परिवर्तन गर्ने लगायतका निर्णय मस्कले सो प्लेटफर्म खरिद गरेको एक वर्षमै गरे ।

सेप्टेम्बरमा बाहिरिएको रिपोर्टलाई आधार मान्ने हो भने मस्कले सो प्लेटफर्म खरिद गरिसकेपछि कम्पनीको आम्दानी ६० प्रतिशतले घटेको छ । अभिव्यक्ति स्वतन्त्रतालाई प्राथमिकता दिने नाममा सो प्लेटफर्ममा द्वेषपूर्ण अभिव्यक्ति, दुर्व्यवहार र रङ्गभेद सम्बन्धी गतिविधि बढ्दैछन् ।

मस्ककाे नेतृत्वमा रहेको एक्सले कैयौं कानूनी झमेलाको सामना गर्दै आएको छ । फोर्ब्सका अनुसार कम्पनीले कर्मचारीलाई दिने भनेको रकम उपलब्ध नगराएकाले मुद्दाको सामना गरिरहेको छ । कतिपय कम्पनीले एक्सले प्रयोगकर्ताको डेटा सङ्कलन गरी त्यसको उलङ्घन गरिरहेको दाबी समेत गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत