ज्यान मुद्दामा पाँच वर्षको कैद सजाय तोकिएका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ हाल फरार छन् ।
२०६१ साल वैशाख २१ गते उनीसहितको समूहले गुन्डानाइके मिलन गुरुङ ‘चक्रे मिलन’ माथि धारिलो हतियार प्रहार गरेको थियो । यही मुद्दाको अन्तिम सुनुवाइ गर्दै सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार उक्त फैसला गरेको थियो । फैसलापछि उनी फरार छन् ।
अन्य घटनामा अदालतको फैसला कार्यान्वयन भन्दै आरोपी पक्राउ गर्न हतारो गर्ने प्रहरी मनाङेका विषयमा भने मौन देखिएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्की भन्छन्, ‘अदालतले के फैसला गर्याे हामीलाई जानकारी आएको छैन । आदेश र फैसलासहितको पत्र आएपछि पक्राउ गर्छाैं । को विरुद्ध फैसला आयो, उसको स्टाटस् कस्तो हो ? भन्दा पनि अदालतको आदेश मान्नु हाम्रो जिम्मेवारी हो । अदालतले पत्र पठाएर जानकारी दिएपछि तत्कालै पक्राउ गरिनेछ ।’
उनी छिट्टै पक्राउ पर्ने केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले बताए । उनी भन्छन्, ‘यो काम फैसला कार्यान्वयन गनुपर्ने हाम्रो नियमित जिम्मेवारी भित्र पर्छ । हामीले फैसलाको संक्षिप्त पाठ माग गरेका छौं, त्यो हात पर्ने बित्तिकै पक्राउ गरिनेछ । यसका लागि नेपाल प्रहरी तयारी अवस्थामा छ ।’
मनाङेलाई पक्राउ गर्न प्रहरीको तीन वटा युनिट तयारी अवस्थामा छ । प्रहरीका अनुसार उनलाई पक्राउ गर्नका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी युनिट तयारी अवस्थामा राखिएको छ ।
मनाङेजस्तै प्रहरीको फरार सुचिमा स्वयम् प्रहरी नै पनि छन् । घरजग्गा कारोबारीलाई बलात्कार मुद्दामा फसाउँछाैँ भन्दै धम्की दिने इन्स्पेक्टर बिनु शाही अझै पक्राउ परेकी छैनन्।
भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनीट्र्यापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
अदालतले अनुमित दिएपछि उनी फरार भएकी हुन्। अदालतले पक्राउ पुर्जी दिएकाे १ महिना पुगिसक्दा पनि शाहीलाई प्रहरीले पक्राउ गर्न सकेकाे छैन। ललितपुर प्रहरी स्राेतका अनुसार उनीमाथि अनुसन्धान भइरहेको छ। शाही ललितपुरको भैंसेपाटी प्रभागकी प्रमुख थिइन्। सोही मुद्दामा उनकै सहयोगीहरु सहायक हवलदारसहित ३ जना थुनामा छन्।
ललितपुरको सानागाउँमा घरजग्गा कारोबारीबाट ३० लाख रुपैयाँ असुलेको घटनामा प्रहरी प्रभाग भैंसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालयले गत असाेज १० गते शाहीलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाएको थियाे।
बलात्कार अभियोग लागेका एमाले नेता विदुर शर्मा पनि अझै फरार नै छन् । नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएको लामै समय भैसक्यो। एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि शर्मा फरार भएका हुन्।
भक्तपुर सूर्यविनायक-२ बालकोट बस्दै आएका शर्मालाई प्रहरीले खोजी गरिरहेको छ। प्रहरी वृत्त दरबारमार्गमा युवतीले शर्माविरूद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि खोजीमा रहेको प्रहरीले शर्मा कहाँ छन् पत्ता लगाउन सकेको छैन्। शर्मा भागेर अमेरिका पुगेको बताईन्छ ।
शर्मा निर्माण व्यवसायीसमेत हुन्। उनको ठिमी नगरपालिका-३ गठ्ठाघरमा प्रदेश निर्माण सेवा छ। दोलखाका जिल्लास्तरीय नेता शर्मा बालकोट बस्दै आएका छन्। नेकपा एमालेको गत जिल्ला अधिवेशमा उनी उपसचिव पदको उम्मेदवार बनेका थिए।
ठेक्कापट्टा साथै शर्मा मिटरब्याजको कारोबारमा सक्रिय छन्। उनलाई भरतपुरका एक जना निर्माण व्यवसायीलाई मिटरब्याजमा रकम लगाएर पीडित बनाएको आरोप लागेको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ