नक्कली भुटानी शरनार्थी बनाएर अमेरिकका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–६ का ३८ वर्षीय हेमराज शिवाकोटी र उनकी श्रीमती मोरङको मिक्लाजुङ गाउँपालिका–९ की ३३ वर्षीया मुना सिलवाल (शिवाकोटी) रहेका छन् ।
प्रहरी वृत्त, गौशालाको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा हिजो (आइतबार) मुद्दा दायर गरिसकेको छ ।
प्रतिवादी हेमराजले नक्कली भुटानी शरनार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि कमानसिंह राईबाट २०७९ वैशाख ११ गते ७ लाख र त्यसपछि पटक–पटक गरी १५ लाख, ७६ हजार ठगी गरेको आरोपपत्रमा उल्लेख छ ।
सोमध्ये केही रकम हेमराजकी श्रीमती मुनाको खातामा समेत जम्मा गरिएको थियो ।
हेमराजले अमेरिका जान ४५ लाख खर्च हुने बताएका थिए । बाँकी २९ लाख २४ हजार ठीक पारेर राख्न समेत उनले कमानसिंहलाई भनेका थिए ।
आफूले बाँकी रकम ठीक पारेर हेमराजलाई सम्पर्क गर्दा ‘भुटानी शरणार्थी प्रकरणको मुद्दा चर्केको छ । अहिले तपाईँ चुप लागेर बस्नुस्’ भनी आलटाल गरेको पीडित राईले जाहेरीमा उल्लेख गरेका छन् । अमेरिका नपठाउने भए पैसा फिर्ता दिनुस् भनी माग्दा आफूलाई मार्ने धम्कीसमेत दिएको बताइएको छ ।
जाहेरवाला राईले पैसा दिएको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार थियो । परराष्ट्रमन्त्री डा. नारायण खड्का रहेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ