आइतवार, माघ २७, २०८१

सुमो दुर्घटना : एकै परिवारका ३ जनाको मृत्यु


कान्तिपथ


खोटाङ । दिक्तेलबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उहाँका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङ गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारी अनुसार पूर्व खोटाङ यातायात प्रालिको ना १ ज ६४२१ नम्बरको सुमो दिक्तेलबाट बुधबार साँझ करिब ७ः३० बिरामी लिएर काठमाडौँ हिँडेको थियो ।

आगलागीमा परी गम्भीर घाइते हुनुभएकी माया गुरुङलाई लिएर काठमाडौँ जाँदै गरेको सुमो गएराति दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा आज बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थामा स्थानीयले देखेपछि ट्राफिक प्रहरी कार्यालय हर्कपुरलाई जानकारी दिएका थिए ।

सुमो चालक सुनसरी जिल्ला इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित भने भेटिएका छैनन् । उनी फरार रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

सुमोमा चालकसहित चारजना मात्रै सवार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।

“सुमो दुर्घटनाका बारेमा आज बिहानमात्र जानकारी प्राप्त भयो ।

घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको छ”, उनले भने, “चालक भेटिएका छैनन् ।

दुर्घटनाको कारण खुल्न सकेको छैन ।” उपचारमा पठाइएका बिरामीसहित एकै परिवारका तीनैजनाको मृत्यु भएको खबरले आफन्त तथा गाउँले शोकमा परेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत