काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलतर्फ उडेको टर्किस एयरलाइन्सको एक जहाजको दायाँ इन्जिनमा उडानपछि केही मिनेटमै आगलागी भएको छ।
विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार टर्किस एयरलाइन्सको उडान नम्बर टीएचवाई–७२७ अन्तर्गतको ए३३०–३०३ सिरिजको वाइडबडी जहाज बुधबार दिउँसो १ः२८ बजे काठमाडौँबाट उडेको थियो। उडेको करिब चार मिनेटमै जहाजको दायाँ इन्जिनमा आगलागी भएको जानकारी क्याप्टेनले दिएका थिए।
आगलागीको सूचना पाएपछि चालकदलले जहाजलाई पश्चिम दिशातर्फ मोड्दै दायाँ इन्जिन बन्द गरी १० देखि १२ मिनेटसम्म आकाशमै होल्ड गरेको सिटौलाले बताए। उक्त जहाजमा करिब २२५ जना यात्रु सवार थिए।
घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करिब १५ मिनेटका लागि पूर्ण रूपमा बन्द गरिएको थियो। सम्भावित आपतकालीन अवस्थालाई मध्यनजर गर्दै दमकल, एम्बुलेन्सलगायत सम्पूर्ण सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको विमानस्थल प्रशासनले जनाएको छ।
पछि चालकदलले जहाज भारतको कोलकातातर्फ डाइभर्ट गर्ने निर्णय गरेपछि त्यसको अनुमति दिइएको थियो। दायाँ इन्जिन बन्द गरेपछि आगो नियन्त्रणमा आएको र बाँया इन्जिनको सहायताले जहाज सुरक्षित रूपमा कोलकातामा अवतरण गरेको महाप्रबन्धक सिटौलाले जानकारी दिए।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान–अवतरण सेवा पुनः सामान्य अवस्थामा सञ्चालनमा आइसकेको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ