काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ । प्रहरीका अनुसार उनी पेसाले पठाओ (राइड सेयरिङ) चालक रहेको र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्वील लक’ गरिदिएपछि आवेशमा आएर उनले यस्तो कदम चालेको पाइएको प्रहरी स्रोतले बतायो ।
आत्मदाह प्रयास गर्नेमा मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेका छन् ।
बिहीबार दिउँसो करिब १:४५ बजेको समयमा काठमाडौँ महानगरपालिका-११, त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट नजिकै ती युवकले अप्रत्याशित रूपमा आफ्नो शरीरमा आगो लगाएका थिए । प्रत्यक्षदर्शीका अनुसार उनले आफैँले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएका थिए । महानगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा राखेको भन्दै उनको मोटरसाइकलमा साँचो (ह्वील लक) लगाएपछि उनी आक्रोशित बनेका थिए । सोही विषयलाई लिएर विवाद र तनाव भएपछि उनले पेट्रोल खन्याएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
घटनास्थलमा खटिएका प्रहरी टोलीले तत्कालै आगो निभाएर उनलाई उद्धार गरी उपचारका लागि महाबौद्धस्थित वीर अस्पताल पुर्याएको थियो । हाल उनको वीर अस्पतालको बर्न युनिटमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार नेपालीको अवस्था गम्भीर छ ।
उनको शरीरका विभिन्न भाग जलेका छन् भने उनी हाल हल्का बोल्न सक्ने अवस्थामा रहेका छन् । प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ