बुधबार, असार ३१, २०८३

‘गोली खायौं, न्याय पाएनौं’ — जेनजी आन्दोलनका घाइते आनन्द साहको पीडा


कान्तिपथ


भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर घाइते भएका सर्लाहीका आनन्द साहले सरकारले आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन्। संसद् भवनअगाडि आन्दोलनका क्रममा प्रहरीको एसएलआर गोली लागेर गम्भीर घाइते भएका साहले उपचारदेखि रोजगारीसम्म राज्यबाट कुनै प्रभावकारी सहयोग नपाएको बताएका हुन्।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–१ निवासी २२ वर्षीय साहलाई गोली लागेपछि साथीहरूले सिभिल अस्पताल पुर्‍याएका थिए। अस्पतालमा बेड अभावका कारण उनलाई भुइँमै राखेर करिब दुई घण्टापछि शल्यक्रिया गरी गोली निकालिएको उनले स्मरण गरे। आन्दोलनमा आफ्नै आँखाअगाडि अन्य प्रदर्शनकारीहरू पनि गोली लागेर ढलेको दृश्य उनले अझै बिर्सन नसकेको बताए।

घटनाको करिब १० महिना बितिसक्दा पनि आफू पूर्ण रूपमा निको हुन नसकेको साहको भनाइ छ। खुट्टाको हड्डी छेडेर गएको गोली निकालिए पनि चिकित्सकले धेरै हिँडडुल नगर्न सल्लाह दिएका कारण पहिलेजस्तो सामान्य जीवनमा फर्किन नसकेको उनले बताए। फुटबल र ब्याडमिन्टन खेल्ने आफ्नो सपना पनि चोटकै कारण अधुरो बनेको उनको गुनासो छ।

सरकारले निःशुल्क उपचारको घोषणा गरे पनि व्यवहारमा त्यसको लाभ नपाएको साहले बताए। गृह मन्त्रालयले दिएको परिचयपत्र बोकेर विभिन्न अस्पताल धाउँदा समेत उपचार सुविधा नपाएको र अन्ततः आफ्नै खर्चमा उपचार गर्नुपरेको उनको भनाइ छ।

आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई सरकारले बिर्सिएको आरोप लगाउँदै साहले सांसद तथा सम्बन्धित सरकारी निकायसँग पटक–पटक भेट्न खोज्दा पनि सुनुवाइ नभएको बताए। आन्दोलनका बेला दिइएका प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै उनले घाइते, हिरासतमा रहेका तथा अन्य प्रभावित आन्दोलनकारीहरूको अवस्था अझै दयनीय रहेको दाबी गरे।

सरकारले उचित उपचार, राहत र रोजगारीको व्यवस्था नगरे आफूहरू पुनः आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिँदै साहले परिवर्तनका लागि बगाएको रगतको सम्मान हुनुपर्ने माग गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत