बिहिबार, असार ३२, २०८३

किलियन एमबाप्पेको फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फाईनलमा


देव चौलागाईं


फिफा विश्वकप–२०२६ अन्तर्गत अमेरिकाको टेक्सासस्थित डालास स्टेडियममा गएराति सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै १६ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गरेको छ। यससँगै सन् २०१० को विश्वविजेता स्पेन दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यसँग एक कदम नजिक पुगेको छ।

स्पेनले खेलको २२औँ मिनेटमा अग्रता लिएको थियो। फ्रान्सका लुकास डिग्नेले लामिन यामालमाथि पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि प्राप्त पेनाल्टीलाई मिकेल ओयार्जाबालले सफलतापूर्वक गोलमा परिणत गरे। त्यसपछि ५८औँ मिनेटमा डानी ओल्मोसँग उत्कृष्ट समन्वय गर्दै पेड्रो पोरोले दोस्रो गोल गरेपछि स्पेनले सहज जित सुनिश्चित गर्‍यो। उत्कृष्ट प्रदर्शन गरेका पोरो ‘प्लेयर अफ द म्याच’ घोषित भए।

स्पेनले सुरुदेखि नै खेलमाथि नियन्त्रण कायम राख्दै सन्तुलित र प्रभावशाली प्रदर्शन गरेको थियो भने फ्रान्सले आक्रमणमा अपेक्षाअनुसार अवसर सिर्जना गर्न सकेन। यो हारसँगै दुई पटकको विश्वविजेता फ्रान्स लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्न असफल भएको छ।

पराजयपछि फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसचाम्प्सले आफ्नो टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्वीकार गरे। उनले खेलाडीहरू निकै निराश रहेको बताउँदै प्राविधिक कमजोरी र आक्रमणमा धार नदेखिँदा फाइनल पुग्ने लक्ष्य पूरा हुन नसकेको बताए।

‘हाम्रा खेलाडी निकै निराश छन्। हाम्रो लक्ष्य फाइनल पुग्ने थियो। तर आज हामी प्राविधिक रूपमा आफ्नो सामान्य स्तरभन्दा तल खेल्यौँ र स्पेनले खेलमाथि पूर्ण नियन्त्रण कायम गर्‍यो,’ डेसचाम्प्सले भने।

उनले हारको जिम्मेवारी आफ्नै टोलीले लिनुपर्ने उल्लेख गर्दै अवसरहरूको सदुपयोग गर्न नसक्नु महँगो परेको बताए। ‘यो मुख्य रूपमा हाम्रो आफ्नै कमजोरी हो। हामीले आक्रमणमा अपेक्षाअनुसार खतरा सिर्जना गर्न सकेनौँ। केही गलत पासका कारण गोल गर्ने अवसर पनि गुमायौँ। उच्च स्तरको फुटबलमा यस्ता गल्तीको मूल्य चुकाउनुपर्छ,’ उनले थपे।

स्पेन अब आइतबार न्यूयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। सन् २०१० मा नेदरल्यान्ड्सलाई हराउँदै पहिलोपटक विश्वकप जितेको स्पेन दोस्रो पटक विश्वकप उचाल्ने लक्ष्यमा रहेको छ।

यता, ओयार्जाबालले पछिल्ला २० अन्तर्राष्ट्रिय खेलमा आफ्नो गोल संख्या १८ पुर्‍याएका छन्। साथै, उक्त गोलसँगै उनी स्पेनका लागि ३० अन्तर्राष्ट्रिय गोल गर्ने छैटौं खेलाडी बनेका छन्। प्रतियोगिताबाट बाहिरिएको फ्रान्सले अब शनिबार तेस्रो स्थानका लागि हुने प्लेअफ खेल खेल्नेछ, जहाँ कप्तान किलियन एमबाप्पेलाई गोल्डेन बुटको दौडमा आफ्नो गोल संख्या बढाउने अवसर हुनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत