कांग्रेस र एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका मानबहादुर बुढाथोकी र लालबहादुर रावतको विजय जुलुसमा आउँदै गर्दा ना ५ ख ८०६० नम्बरको बसको छतमा बसेका बेला करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
कुमाख गाउँपालिका ४ बस्नेतज्युलाबाट गाउँपालिकाको कार्यालयमा जाने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको थियो । मृत्यु हुनेमा कुमाख गाउँपालिका ४ का २६ वर्षीय लोकेन्द्र राना र २३ वर्षीय गोपाल बुढाथोकी छन् । दुवैको घटनास्थलमै मृत्यु भएको हो ।
करेन्ट लागेर सोही स्थानका नविन रावत, विनोद बुढाथोकी लगायत १३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ सुमित खड्काका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते भएका सबैलाई उपचारको लागि मिसन अस्पताल चौरजहारी लगिएको छ।
कुमाख गाउँपालिका ४ बस्नेतज्युलाबाट पालिकाको कार्यालय आउदै गर्दा कुमाख गाउँपालिका-१ शान्तिबजारमा बसको छतमा उभिएकालाई करेन्ट लागेको थियो । घाइते भएका दुईजना बाहेक अन्यको नाम खुल्न बाँकी छ । थप विवरण आउन बाँकी रहेको डीएसपी खड्काले जानकारी गराए ।
बसमा सवार धेरै भएपनि छतमा बसेकालाई मात्र करेन्ट लागेको गाडीमा सवार ठगेन्द्र चन्दले बताए । ‘बिजुलीको तार लत्रिएको अवस्थामा थियो । मृतकमध्ये एकजनाले उभिएर झन्डा ठड्याउँदा करेन्ट लागेको थियो । उभिएका मृतकमध्ये एक पुरुषकै कारण अन्यलाई पनि करेन्ट लागेको थियो,’उनले भने । घाइते सबैलाई सोही बसमा राखेर उपचारको लागि मिसन अस्पताल चौरजहारीमा लगिएको उनको भनाइ छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ