“प्रधान सेनापति ब्यानर प्रतियोगिता” मा सहभागी हुन जाँदै गरेको नेपाली सेनाको एक ट्रक आज दिउँसो मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाई इलाकामा दुर्घटना हुँदा १७ जना सैनिक जवान घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।
नेपाली सेनाका अनुसार, श्री नं. २ राजदल गणको टोली तनहुँको खैरेनीटारबाट धनुषातर्फ जाँदै गर्दा बा.१.ग.२८० नम्बरको (7.5) ट्रक दिउँसो २:२८ बजे दुर्घटनामा परेको हो। उक्त टोलीको कमाण्ड उपरथी (उ.से.) हर्ष विक्रम अधिकारीले सम्हालेका थिए।
दुर्घटनालगत्तै उद्धार कार्य सुरु गरिएको थियो। गम्भीर घाइते भएका ६ जना सैनिक जवानहरूलाई तत्काल उपचारको लागि नेपाली सेनाको NA-067 हेलिकप्टरमार्फत काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल लगिएको छ। हेलिकप्टरले अपरान्ह ४:३३ बजे गम्भीर घाइतेहरूलाई लिएर काठमाडौंका लागि उडेको थियो।
गम्भीर घाइते (वीरेन्द्र अस्पताल, काठमाडौं लगिएका):
• हुल्दार (हु.) चक्र बहादुर बोहरा
• हुल्दार (हु.) हिरामान माझी
• अमल्दार (अम.) टिकाराम कडेल
• अमल्दार (अम.) सुनिल चौधरी
• प्युठ भरत वि.क.
• सिपाही (सि.) रोहित पाण्डे
बाँकी ११ जना घाइतेहरूलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। जसमध्ये टाउको, ढाड र कानमा चोट लागेका ३ जनालाई अस्पतालको सर्जिकल वार्डमा भर्ना गरिएको छ। कमाण्डर हर्ष विक्रम अधिकारीसहित अन्य ८ जनालाई भने सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ। उनीहरु साँझ ७:२० बजे नजिकैको सैनिक ब्यारेकमा फर्किएका छन्।
दुर्घटनामा ५ जना जवानहरू भने सकुशल रहेका छन्। दुर्घटनाग्रस्त ट्रकलाई निकाल्नका लागि दुईवटा सिभिल क्रेनको प्रयोग गरिएको र त्यसलाई सुपारेटार ब्यारेकसम्म लैजान ट्रेलरको व्यवस्था गरिएको सेनाले जनाएको छ।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ