तेह्रथुम र उदयपुरमा मंगलबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । तेह्रथुममा ट्याक्टर र उयपुरमा मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
तेह्रथुमको म्याङलुङ नगरपालिका–४ पिप्लेस्थित सल्लेरी भिरबाट प्रदेश १–०२–०३ त ३००० नम्बरको ट्याक्टर खसेर दुर्घटना भएको छ । दुर्घटनामा ट्याक्टर चालक म्याङलुङ–१० का १७ वर्षीय शेरबहादुर पुर्कुटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।म्याङलुङ–१ स्थित निर्माणाधीन जिल्ला अस्पतालअगाडिको काम सकेर सोमबार फर्किएको ट्याक्टर नदेखिएपछि सहायक सुपरभाइजर हरिकुमार राईले जिल्ला प्रहरी कार्याल तेह्रथुममा जानकारी गराएका थिए । त्यसलगत्तै खोजतलासका लागि खटिएको प्रहरी टोलीले भिरबाट खसेको ट्याक्टरको इन्जिनको भाग फेला पारेको थियो ।
ट्याक्टरको डाला सडकबाट करिब ५ सय मिटर तल भेटिएको थियो । त्योभन्दा करिब २० मिटर तल ट्याक्टर चालक पुर्कुटी मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको इन्स्पेक्टर राजाबाबु ठाकुर नेतृत्वको टोलीले मृतकको पहिचान गरेको हो ।
भिरको अप्ठेरो स्थानमा फेला परेको शव नेपाली सेनासँग समन्वय गरी निकालिएको थियो । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल तेह्रथुम पठाइएको छ । सीसी क्यामेरामा पुर्कुटी आफैंले ट्याक्टर चलाएको र अचानक अनियन्त्रित भएर सडकबाट उक्त ट्याक्टर खसेको देखिएको छ ।
पुर्कुटीको शव मंगलबार साँझ फेला परेको हो । मृतकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नरहेको पाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, उदयपुरको चौदण्डीगढी नगरपालिका–४ थुलुङडाँडामा २ वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बर्खेडाँडाबाट बसाहाथानतर्फ जाने भित्री पक्की सडक खण्डमा बसाहाथानबाट बर्खेडाँडा जाँदै गरेको बा ९२ प ०८९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०५–००२ प ०५८९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ०५८९ नम्बरको मोटरसाइकल चालक चौदण्डीगढी–४ का अन्दाजी ५८ वर्षीय भक्तराम राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका राईलाई उपचारका लागि नगर अस्पताल बेलटार पुर्याउनसाथ मंगलबार दिउँसो ३ः४५ बजेतिर चिकित्सकले मृत घोषित गरेका थिए ।
दुर्घटनापछि प्रहरीले ०८९७ नम्बरको मोटरसाइकल चालक चौदण्डीगढी–४ बसाहाथानका अन्दाजी २६ वर्षीय एमन मगर र दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलटारले अनुसन्धान अघि बढाएको छ । दुर्घटनास्थल ट्राफिक प्रहरी पोस्ट बेलटारबाट करिब ८ किलोमिटर पूर्वमा पर्छ ।
मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतकसँग लाइसेन्स रहेको र ०८९७ नम्बरको मोटरसाइकल चालकसँग लाइसेन्स नरहेको प्रहरीले जनाएको छ ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ