चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको ८५ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै घरको छतमा घाम ताप्ने क्रममा लडेर उनको ज्यान गएको हो।
गायिका वलीले सामाजिक सञ्जालमार्फत बुवाको निधनबारे जानकारी दिँदै पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि तुलसीपुरस्थित ‘दिपा–ललित निवास’ (बाहिनी गेट नजिक) मा राखिएको उल्लेख गरेकी छन्।
स्वर्गीय वली दाङको साहित्यिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए। वि.सं. १९९८ मंसिर १५ गते जन्मिएका उनले ‘दर्पण’ (राष्ट्रिय गीत सङ्ग्रह) र ‘मातृभूमि’ (कविता सङ्ग्रह) जस्ता कृति प्रकाशित गरेका थिए।
उनका सातवटा गीत रेडियो नेपालमा रेकर्ड भएका छन्, जसमा देउसी–भैलो, तीज र भजन समावेश छन्। उनी स्वयं पनि कुशल गायक थिए र छोरी कोमल वलीका धेरै गीतमा अभिनयसमेत गरेका थिए। वलीका अनुसार बुवाका थप गीत रेकर्ड गर्ने योजना बनाइरहेकै बेला यो दुःखद घटना भएको हो।
ललितबहादुर वली विभिन्न सामाजिक तथा साहित्यिक संस्थामा संलग्न थिए। उनी दाङ ज्येष्ठ नागरिक जिल्ला संघ, दाङ साहित्य प्रतिष्ठान, सङ्गीत नाट्य प्रतिष्ठान तथा पृथ्वीनारायण शाह प्रतिष्ठान तुलसीपुरका सदस्य थिए। ज्येष्ठ नागरिक सेवामा समर्पित उनको सम्मानमा परिवारले ‘ज्येष्ठ नागरिक प्रतिष्ठान’ समेत स्थापना गरेको छ।
उमेरका कारण शारीरिक रूपमा केही कमजोर भए पनि उनी गम्भीर रोगबाट पीडित थिएनन्। केही समयअघि पत्नीको निधनपछि भने उनी मानसिक रूपमा कमजोर भएको पारिवारिक स्रोतले जनाएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ