भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रालाई पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। भारत ले चीन सँगको सहकार्यमा सन् २०२६ जुनदेखि अगस्टसम्म यात्रा सञ्चालन गर्ने जनाएको हो।
भारतीय विदेश मन्त्रालयका अनुसार यस वर्ष कुल २० समूह यात्रामा सहभागी हुनेछन्। तीमध्ये १० समूह उत्तराखण्ड हुँदै लिपुलेक पासबाट र बाँकी १० समूह सिक्किमस्थित नाथु ला पास हुँदै यात्रा गर्नेछन्। प्रत्येक समूहमा ५० जना यात्रु रहने व्यवस्था गरिएको छ।
धार्मिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने कैलाश मानसरोवर यात्रामा सहभागी हुन इच्छुकहरूले अनलाइन आवेदन दिन सक्नेछन्, जसको अन्तिम मिति मे १९ तोकिएको छ।
तर, लिपुलेक मार्ग नेपालको दाबी गरिएको भूभागमा पर्ने भएकाले यस विषयमा नेपालले आपत्ति जनाउँदै आएको छ। कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई नेपालले आफ्नो भूमि बताउँदै आएको छ, तर भारतले उक्त क्षेत्र प्रयोग गर्दै आएको छ।
यसअघि पनि भारत र चीनबीच लिपुलेक मार्ग प्रयोग गर्ने सहमति भएको थियो, जसमा नेपाललाई समावेश नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको थियो। कोभिड–१९ महामारीपछि बन्द भएको यो यात्रा सन् २०२४ देखि पुनः सञ्चालनमा आएको हो।
चीनमा भएको उच्चस्तरीय भेटवार्तापछि उक्त मार्ग पुनः खुलाउने सहमति बनेको बताइएको छ, जसले क्षेत्रीय कूटनीतिक संवेदनशीलता थप बढाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ