काठमाडौँ । नेपाली र भारतीय सेनाबीच गुणस्तरीय संयुक्त अभ्यास सूर्यकिरण–१६औँ शृङ्खला आजदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ ।
विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन हुने १४ दिने उक्त संयुक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गर्नुभएको हो ।
प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा तीन सय ३४ र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा तीन सय ३४ सैनिक तालिममा सहभागी हुनुहुन्छ ।
यसअघि संयुक्त अभ्यास सूर्य किरणको पन्ध्रौँ संस्करण भारतको पिथौरागढमा भएको थियो । अभ्यास विसं २०६७ बाट नेपाल र भारतमा वार्षिकरुपमा आलोपालो गरी सञ्चालन हुँदै आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
तालिमका क्रममा फौजले प्रतिविद्रोह तथा प्रतिआतङ्कवादलगायत जङ्गलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गरिन्छ ।
उक्त तालिमबाट दुवै मुलुकका सेनाबीचको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान हुनेछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ